१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी नदिएको भन्दै एमालेको आपत्ति

१३ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमणका विषयमा सरकारले सदनलाई जानकारी नगराएको भन्दै प्रश्न उठाइएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसद्लाई जानकारी दिने स्थापित संसदीय परम्पराको सरकारले पालना नगरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी दिने परम्परा छ, तर उहाँले भ्रमणमा जाने बेलामा पनि सदनलाई जानकारी दिनुभएन।’ सरकारले प्रधानमन्त्रीको न्युयोर्क भ्रमण स्वीकृत गरेको सार्वजनिक भएको उल्लेख गर्दै उनले थपिन्, ‘प्रधानमन्त्रीज्यूले विदेश जानु अगाडि यस सम्मानित सदनलाई भ्रमणको उदेश्य र एजेण्डा तथा राष्ट्रहित प्राथमिकताबारे जानकारी गराउने तथा स्वदेश फर्किएपछि भ्रमणबाट प्राप्त उपलब्धी र भएका महत्वपूर्ण भेटवार्ताबारे संसदलाई जानकारी गराउने संसदीय अभ्यासलाई गम्भीरतापुवर्क लिनुपर्छ ।’

उनले प्रधानमन्त्रीको भ्रमण र त्यहाँ भएका छलफलहरूलाई सार्वजनिक सरोकारको विषय भएको भन्दै सदनलाई गुमराहमा नराख्न सरकारलाई आग्रह गरिन् ।

प्रकाशित मिति : September 29, 2026 at 12:02 pm