१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

चोलेन्द्र पक्राउबारे प्रचण्डकाे टिप्पणीः ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ

१२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले सुरक्षा थ्रेटको नाममा विशिष्ट व्यक्तिलाई पक्राउ गर्नु उचित नभएको बताए । कसैलाई सुरक्षा चुनौती भए पक्राउ गर्नुभन्दा घरमै सुरक्षाकर्मी बढाउनुपर्ने उनको भनाइ थियो ।

दाहालले सरकारले यही शैलीमा शासन सञ्चालन गर्न खोजे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए । पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजिएको हो भने त्यस्तो प्रयास सरकारकै लागि घातक हुने उनको टिप्पणी थियो ।

‘छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ,’ दाहालले भने, ‘यस्तो घटना नदोहोर्याउनका लागि म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले जबराको पक्राउपछि उनलाई छाडिनुको वास्तविक तथ्य क्रमशः बाहिर आउने बताए । सुरक्षा थ्रेटलाई पक्राउको कारण बनाइएको विषयमा पनि उनले प्रश्न उठाए ।

यसैगरी, दाहालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधनलाई मुलुकले भोगिरहेको परिस्थितिका आधारमा स्वाभाविक भएको टिप्पणी गरे ।

प्रधानमन्त्री साहको सम्बोधनलाई लिएर अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको दाहालले बताए । उनका अनुसार साहको स्थानमा अन्य व्यक्ति प्रधानमन्त्री भएको भए पनि मुलुकको अवस्थाका आधारमा त्यस्तै विषय उठ्न सक्ने थियो ।

‘बालेन गएर यो कुरा बोले, अरु गएको भए बोल्दैनथ्यो भन्ने कुरा सोचियो भने त्यो पनि सही हुँदैन,’ दाहालले भने ।

प्रकाशित मिति : September 28, 2026 at 2:57 pm