९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

विश्व मञ्चमा बालेनको प्रश्नः भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?

९ असोज, काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै भोटेकोशी बाढी नेपालका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि चेतावनीको सन्देश भएको बताएका छन् ।

राष्ट्रसंघीय मुख्यालयमा जारी महासभामा बोल्दै बालेनले प्रश्न गरे, “भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?”

बाढीका कारण नेपालले ठूलो जनधनको क्षति बेहोर्नु परेको बताउँदै उनले यो संकट नेपालका कारण नभई विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जना भएको स्पष्ट पारे।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले यो मुद्दामा कुनै पनि देशलाई दोष नलगाउने र यसलाई भूराजनीतिक विषय बनाउन नचाहेको धारणा राखे ।

बरु हिमाल र पर्यावरण संरक्षणका लागि सम्पूर्ण विश्व समुदायलाई एकसाथ आउन र सहकार्य गर्न उनले आह्वान गरे। साथै, विपद्पछिको चुनौतीपूर्ण परिस्थितिबाट पार पाउन नेपाललाई आवश्यक सहयोग गर्न पनि उनले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरे।

प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्तिलाई उद्धृत गर्दै वैज्ञानिक जगतले लामो समयदेखि यस्ता जलवायु संकटबारे चेतावनी दिँदै आएको पनि स्मरण गराए ।

प्रकाशित मिति : September 25, 2026 at 7:17 am