८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सुशासनका कुरा गर्नेहरू नै सरुवा र बढुवाको भनसुनमा आउँछन्ः सांसद आचार्य

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरुवा र बढुवाको अस्वस्थ अभ्यासप्रति चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र नजिकका मानिसहरूबाटै हुने स्वार्थप्रेरित दबाबलाई रोक्न सरकारले तत्काल स्वायत्त सरुवा बोर्ड गठन गर्नुपर्ने माग गरेका हुन्।

सांसद आचार्यले आफू राजनीतिमा आएपछि सबैभन्दा बढी दबाब सरुवा र बढुवाका लागि झेल्नुपरेको तीतो यथार्थ रहेको बताए। ‘राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो,’ सांसद आचार्यले भने, ‘सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ।’  उनले भने, ‘कतिले त यति जाबो सरुवा गराउन नसक्ने भए त नाथे के नेता ? भनेर घुर्की पनी लगाउनुहुन्छ ।’

आफूले सबैलाई सरुवा बढुवा विधिमै थितिमै भइराखेको उनले बताए । ‘अब भनसुन चल्दैन भनेर भनेको छु । अझ हाम्रो वाचापत्रको आठ नम्बरको बाचा देखाउँदै सरकारले चाँडै नै स्वायत्त सरुवा बोर्ड मार्फत पूर्वानुमानयोग्य, विधिमा आधारित सरुवा प्रणाली लागू गर्दैछ भनेर पनि भन्छु,’ उनले भनेका छन् ।

सांसद आचार्यले आफूले यस्ता आग्रहहरूलाई विधि र पद्धतिभन्दा बाहिर गएर सम्बोधन गर्न नसकिने भन्दै फर्काउने गरेको स्पष्ट पारे। आफ्नो पार्टीको वाचापत्रमा उल्लेख गरिएको प्रतिबद्धता स्मरण गराउँदै उनले भने, ‘हाम्रो वाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने उल्लेख छ, जसले निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्छ। सरकारले यो बोर्ड जतिसक्दो चाँडो गठन गर्नुपर्छ।’

उनले विधिमा आधारित कर्मचारी सरुवा गर्न स्वायत्त बोर्ड गठन गर्न माग गरेका छन् । ‘सरकारलाई यो बोर्ड चाँडै गठन गर्न आग्रह छ । होइन भने यो पटकको दशैंमा आफ्नै इष्टमित्रबाट टिका र आशीर्वाद नपाइएला भन्ने पिर छ’ आचार्यले भने, ‘आशीर्वादको साटो उल्टै यसले हाम्रो कामै गरिदिएन भनेर सराप पो पाइने हो कि ! त्यसैले मलाई यो सरापबाट बचाउनु पर्यो सरकार ।’

प्रकाशित मिति : September 24, 2026 at 12:56 pm