७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सञ्चार क्षेत्रका माग तत्काल सम्बोधन गर्न रास्वपा सांसद पन्तको माग

७ असोज, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरूले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरू सरकारका पछिल्ला निर्णयप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए।

उनले भने, ‘यसरी मुलुकको चौथो अंगका रूपमा रहेका पत्रकार मित्रहरू आफ्ना पेसागत हकहित र मागहरू लिएर सडकमै उत्रिनुपर्ने परिस्थितिको सिर्जना हुनु दु:खद् विषय हो ।’ पन्तले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमलाई राहतस्वरूप दिइँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएको, राष्ट्रिय समाचार समितिले अन्य आमसञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको समाचारको शुल्कमा अस्वाभाविक वृद्धि गरिएको र सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यम तथा सामुदायिक रेडियोलाई न्यायोचित रूपमा समावेश नगरिएको बताए।

राज्यका यस्ता नीति तथा निर्णयहरूले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेका स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुको सट्टा झन संकटमा पारेको भन्दै नेपाल पत्रकार महासंघ आन्दोललित छ । उनले भने, ‘नेपाल पत्रकार महासंघ लगायत ति संस्थाहरूसँग अविलम्ब संवाद गरी उहाँहरुको जायज मागहरू यथा शीघ्र सम्बोधन गर्न म सम्माननिय सभामुखज्यु मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : September 23, 2026 at 2:34 pm