६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

ट्राफिक प्रहरीले अनिवार्य रूपमा शरीरमा क्यामरा जडान गर्नुपर्योः आशिका तामाङ

६ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले  ट्राफिक प्रहरीको शरीरमा क्यामरा जडान गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडकमा फैसला गर्नेभन्दा तथ्यपरक कामकारबाहीका लागि क्यामरा जडान गर्न आवश्यक रहेको बताइन् ।

‘प्रत्येक ट्राफिक प्रहरीले अनिवार्य रूपमा आफ्नो शरीरमा क्यामरा जडान गर्नुपर्‍यो, ताकि लाइसेन्स र बिलबुक नियन्त्रण गरी सडकमा फैसला गर्नुभन्दा पनि फोटो, भिडियो रेकर्डको आधारमा तथ्यपरक कामकारबाही अगाडि बढाउन सकियोस्,’ उनले भनिन् ।

dainiki.com

उनले यातायात क्षेत्रको नियमन प्रणाली र ट्राफिक प्रहरीको कार्यशैलीप्रति प्रश्न उठाएकी छन् ।  ट्राफिक प्रहरीले गरेको कामकारबाही चित्त बुझेन भने ३५ दिनभित्र यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष उजुरी दिन सकिने व्यवस्थालाई परिमार्जन गरेर समयसापेक्ष बनाउन पनि उनको माग छ ।

 उनले भनिन्, ‘दार्चुलाका एक चालकलाई चित्त नबुझेको कुराको उजुरी दिन उनी काठमाडौँ विभागमा आएर डीजीलाई भेट्न कत्तिको न्यायोचित छ ? ५०० रुपैयाँको जरिवाना चित्त नबुझेर ५० हजार खर्च गरी काठमाडौँ धाउनुपर्ने कस्तो व्यवस्था हो ?’ यदि अनलाइन प्रणाली सम्भव छैन भने यस्तो झन्झटिलो दफा खारेज गर्नुपर्ने उनको भनाइ छ। सांसद तामाङले ट्राफिक प्रहरी र यातायात व्यवसायी दुवैलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने र मजदुरहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरिन्। ‘खाली चालकलाई मात्रै दोष थोपरेर समस्या समाधान हुँदैन। राज्यले मजदुरहरूको जीवनलाई जोखिममा राखेर सडकको परिकल्पना गर्न सक्दैन,’ उनले भनिन्।

प्रकाशित मिति : September 22, 2026 at 3:18 pm