गृहमन्त्रीलाई नेकपाको प्रश्नः ट्राफिक प्रहरी कसले चलाउने हाे ?
६ असाेज, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साेमबार त्रिपुरेश्वरमा आत्मदाह गरेकाको घटनामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले गृहमन्त्री सुदन गुरुङलाई ‘ट्राफिक प्रहरी कसको हो’ भनेर प्रश्न सोधेका छन्।
उनले भने, ‘ट्राफिक प्रहरीसँगको विवादमा युवकले आत्मदाह गर्ने गर्ने उद्घोष गर्दा राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो। यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो। र अन्ततः उनको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए, उनी मरे।’

सांसद दुलालले यसअघि महानगर प्रहरी र राइडरको विवादमा पन्छिएका गृहमन्त्रीलाई प्रश्न गरेका छन् । महानगर प्रहरीसँगको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा गत असार २६ गते गणेश नेपालीको ज्यान गएको थियो। उक्त घटनामा गृहमन्त्री सुदन गुरुङले प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै महानगर प्रहरीले ह्विल लक गरेको उल्लेख गरेका थिए। साथै महानगर प्रहरी आफ्नो मातहत नभएको बताएका थिए।सोही प्रसंग कोट्याउँदै सांसद दुलालले गृहमन्त्री सुदन गुरुङलाई प्रश्न सोधेका हुन्।
‘गणेश नेपालीले जीवन गुमाउँदा यो महानगरको प्रहरी नेपाल सरकारको होइन स्थानीय तहको हो भनियो,’ उनले भने, ‘आज म गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु- नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? नेपाल प्रहरी चलाउने मन्त्री को हो? ‘
प्रकाशित मिति : September 22, 2026 at 2:58 pm




