६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

मलेसिया रोजगारी समस्याबारे प्रधानमन्त्री बालेनले गरे मलेसियन समकक्षीसँग टेलिफोन वार्ता

६ असोज, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्। मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानका विषयमा छलफल भएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएको बालेनको सचिवालयले जनाएको छ। उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा नेपाल सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारेका छन्।

 शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताए। ‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकलाई मारमा पारेको छ,’ शाहले इब्राहिमसँग भनेन्, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।’

dainiki.com

 प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको बताएको सचिवालयको भनाइ छ । उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको बताइएको छ ।

इब्राहिमले भने, ‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु।’

प्रकाशित मिति : September 22, 2026 at 11:57 am