त्रिपुरेश्वरमा घटनाको छानबिन गर्न ७ सदस्यीय अर्को समिति गठन
५ असोज, काठमाडौं । त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ बेमा रोकिराखिएको सार्वजनिक बसमा भएको आगजनीको घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ सदस्यीय समिति गठन गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैहेको संयोजकत्वमा सात सदस्यी समिति गठन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए । समितिले घटनाको सत्यतथ्य पत्ता लगाई ७ दिनभित्र प्रतिवेदन पेश गर्ने उनले बताए ।
समितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका सुरेश केसी, प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीम ज्वाला राई, रिद्धिसिद्धि यातायात प्रालिका प्रतिनिधि लव केसी र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल सदस्य रहेका छन्।

प्रशासनका अनुसार सोमबार बिहान करिब १०ः३० बजे काठमाडौं महानगरपालिका–११ स्थित त्रिपुरेश्वर चोकबाट टेकुतर्फ जाँदै गरेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसका चालक दावा लामासँग ट्राफिक नियम उल्लंघनको विषयमा विवाद भएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम पुर्जी काट्ने क्रममा १५ मिनेट बढी विवाद भएपछि बसलाई त्रिपुरेश्वरको पार्किङ बेमा लगेर रोकिएको थियो।
प्रमुख जिल्ला अधिकारी पाैडेलका अनुसार प्रत्यक्षदर्शी तथा घटनाबारे जानकारी भएका व्यक्तिहरूसँग सोधपुछ गरी बयान लिने र घटनास्थल आसपासका सीसीटीभी फुटेजसमेत अध्ययन तथा विश्लेषण गर्ने जिम्मेवारी समितिलाई दिइएको छ। पार्किङ बेमा रोकिएको उक्त बसमा १२ बजेर १० मिनेटको समयमा आगजनी भएको थियो। आगजनीमा चालक लामा गम्भीर घाइते भएका छन्। घटनाको अनुसन्धानका क्रममा समितिले घटनास्थलमा उपलब्ध तथ्य, प्रमाण र सूचनाहरू संकलन तथा विश्लेषण गर्नेछ ।
समितिले बस पार्किङ बेमा रोकिएको समयदेखि आगजनी भएको समयसम्मको घटनाक्रमलाई जोडेर विस्तृत टाइमलाइनसमेत तयार गर्नेछ। त्यसबाट आगजनी हुनुअघि र पछि भएका गतिविधिको तथ्यगत विश्लेषण गरिने प्रशासनले जनाएको छ।
यसअघि प्रहरीले हतारहतार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।समितिलाई पाँच दिनको समय दिइएको छ ।
प्रकाशित मिति : September 21, 2026 at 9:55 pm




