५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

सेयर कारोबार रोकिए पछि बोर्डले बनायो समित, १२ गतेभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन

५ असाेज, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नियमित धितोपत्र कारोबार स्थगन भएको घटनाप्रति नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले समस्याको कारण पहिचान गर्न ५ सदस्यीय निरीक्षण टोली गठन गर्नुका साथै नेप्सेलाई आगामी असोज १२ गतेभित्र विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डेटा सेन्टरमा आएको प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन दिएको हाे। डेटा सेन्टर डेटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएता पनि हालसम्म समाधान भइनसकेको र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले कारोबार रोकिएको नेप्सेले उल्लेख गरेको थियो।

dainiki.com

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेद्वारा सोमबार जारी प्रेस विज्ञप्तिअनुसार कारोबार नै रोक्नुपर्ने गरी उत्पन्न विषम परिस्थितिको आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटनाहरू पुनः दोहोरिन नदिन चाल्नुपर्ने सुधारका उपायहरूसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिइएको छ ।

कारोबार स्थगन गर्नुपर्ने वास्तविक कारण तथा प्राविधिक समस्या पहिचान गर्न बोर्डले आफ्ना उप कार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ । बोर्डका अनुसार निरीक्षण टोलीले दिने सुझावका आधारमा नेपालको धितोपत्र बजारलाई आगामी दिनमा स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन थप आवश्यक कार्य अघि बढाइनेछ।

प्रकाशित मिति : September 21, 2026 at 5:09 pm