सरकारले आफैँ बनाएको राजदूत नियुक्ति मापदण्ड तोड्योः ज्ञानेन्द्र शाही
५ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का संसदीय दल नेता ज्ञानेन्द्र शाहीले सरकारले राजदूत नियुक्ति सिफारिस गर्दा आफैले बनाएको मापदण्ड मिचेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बाेल्दै उनले सरकारले परराष्ट्र मन्त्रालयमार्फत सार्वजनिक गरेको राजदूत नियुक्तिको मापदण्ड र प्रस्तावित नामहरूबिच तालमेल नमिलेको भन्दै प्रश्न उठाएका हुन् ।
उनले अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट सञ्चालित गैरसरकारी संस्थामा कार्यरत हुन नहुने र विदेशी राज्यद्वारा तलब सहितको पदमा नियुक्ति भएको भए उक्त पद छाडेको १० वर्ष हुनुपर्ने मापदण्ड मिचिएको आरोप लगाएका हुन्। सरकारले आफैले बनाएको मापदण्ड आफै मिच्यो। अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा अक्सफाम एसियाली क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गरेका व्यक्ति हुन्’, शाहीले भने, ‘स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन विश्व बैंक अन्तर्गतको आइएफसीमा कार्यरत रहेको उल्लेख छ। जर्मनीका लागि प्रस्तावित शारू जोशीले युएन वुमन लगायतका अन्तर्राष्ट्रिय संस्थामा काम गरेकी छन्।’

शाहीले थपे ओमानका लागि प्रस्तावित पद्माक्षी राणाको पृष्ठभूमि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा केन्द्रित देखिन्छ। दक्षिण कोरियाका लागि प्रस्तावित प्रा. डा. संगम श्रेष्ठले एसिया इन्टिच्युट अफ टेक्नोलोजी लगायतका अन्तर्राष्ट्रिय शैक्षिक तथा विकास संस्थासँग काम गरेका छन्। जापान लगायतमा सबैतिर यस्तै छ।
सांसद शाहीले प्रश्न गर्दै भने, ‘सरकारले आफैँ मापदण्ड बनाउने, आफैँले बनाएको नियमको उल्लङ्घन गर्ने ? यदि यो मापदण्ड लागू गर्न सकिँदैनथ्यो भने किन यस्तो नियम बनाइयो ? सरकारको यो कदमले नियतमाथि शङ्का जन्माएको छ।’
प्रकाशित मिति : September 21, 2026 at 2:12 pm




