४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउन भाग्यमै भर !

४ असोज, काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ भोलि असोज ५ गते बिहान बाँडफाँड हुने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ सोमबार बिहान बाँडफाँड हुन लागेको हो ।

कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे बाँडफाँडको तयारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता माग गर्दै आवेदन दिएका छन्।

मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ। बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०र१० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने बाँकी आवेदकको हात भने खाली हुनेछ। आईपीओमा मागभन्दा धेरै आवेदन परेका कारण १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : September 20, 2026 at 3:00 pm