४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

केपी ओलीलाई नेतृत्व छाड भन्न कसले मिल्छ ? कसले मिल्दैन ?

४ असोज, काठमाडौँ । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हट्नुपर्ने आवाज उठिरहेका बेला ओली पक्षका नेता सूर्य थापाले आफ्नै पक्षका नेताहरूतर्फ संकेत गर्दै नयाँ प्रश्न उठाएका छन्।

अध्यक्ष ओलीकै प्यानलबाट चुनाव जितेका विष्णु पौडेल र शंकर पोखरेललगायत नेताहरूले अहिले नेतृत्व परिवर्तनको पक्षमा धारणा राखिरहेका बेला थापाले विगतको महाधिवेशनमा बनेको प्यानल र राजनीतिक जिम्मेवारी सम्झाउँदै यस्तो टिप्पणी गरेका हुन्।

थापाले ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले ओलीलाई ‘छाड्नुस्’ भन्न मिल्ने तर ओलीकै प्यानलबाट निर्वाचित भएका नेताहरूले भने त्यस्तो माग गर्न नमिल्ने आशय व्यक्त गरेका छन् ।

‘ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले छाड्नुस् भन्न मिल्छ। अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन !’ थापाले लेखेका छन्।

थापाको टिप्पणी एमालेभित्र पछिल्लो समय विकसित भइरहेको नयाँ शक्ति समीकरणप्रति लक्षित देखिन्छ। ओली नेतृत्वको विकल्प खोज्ने बहसमा अहिले ओलीकै प्यानलबाट विगतमा निर्वाचित भएका नेताहरू पनि जोडिन थालेपछि थापाले उनीहरूको विगतको राजनीतिक हैसियतलाई बहसको विषय बनाएका हुन्।

एमालेको पछिल्लो महाधिवेशनमा ओली र ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो। पोखरेलले आफ्नै प्यानल बनाएर अध्यक्षमा उम्मेदवारी दिएका थिए। पोखरेल प्यानलबाट गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेताहरू निर्वाचित भएका थिए। अर्कोतर्फ विष्णु पौडेल र शंकर पोखरेल ओलीको प्यानलबाट निर्वाचित भएका थिए।

अहिले भने महाधिवेशनको त्यो समीकरण उल्टिएको देखिन्छ। ओलीको नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्ष र नेतृत्व परिवर्तन तथा पार्टी पुनर्गठनको पक्षबीच एमालेभित्र सार्वजनिक रूपमा नै मतभेद देखिन थालेको छ। विगतमा ओलीको साथमा रहेका केही प्रभावशाली नेताहरू नै नेतृत्व परिवर्तनको बहसमा देखिएपछि ओली पक्षभित्रै असन्तुष्टि र प्रतिवाद बढेको छ।

यही बदलिँदो समीकरणमाथि थापाको टिप्पणी आएको हो। उनले मूलतः ‘ओलीसँग प्रतिस्पर्धा गरेर निर्वाचित भएका नेताहरूले नेतृत्व छाड्न आग्रह गर्न सक्छन्, तर ओलीकै प्यानलबाट निर्वाचित भएका नेताहरूले नै अहिले ओलीलाई छाड्न आग्रह गर्नु राजनीतिक रूपमा विरोधाभासपूर्ण हुन्छ’ भन्ने तर्क अघि सारेका छन्।

थापाको टिप्पणीले एमालेको अन्तरसंघर्षलाई अर्को कोणबाट सतहमा ल्याएको छ। अहिलेको विवाद ओलीको नेतृत्व रहने कि नरहने भन्नेमा मात्र सीमित छैन; महाधिवेशनमा बनेका पुराना समूह, त्यसपछि विकसित शक्ति समीकरण र नेताहरूको बदलिँदो भूमिकामाथि पनि केन्द्रित हुन थालेको छ।

ओली पक्ष र नेतृत्व पुनर्गठनको पक्षमा रहेका नेताहरूबीच सार्वजनिक अभिव्यक्तिमार्फत आरोप–प्रत्यारोप बढ्दै जाँदा एमालेको आन्तरिक विवाद अब पार्टीको आगामी राजनीतिक दिशा र नेतृत्व संरचनासँग जोडिएको बहसमा परिणत हुँदै गएको छ।

प्रकाशित मिति : September 20, 2026 at 12:13 pm