सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँः प्रचण्ड
२ असाेज, काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँ र तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
सरकारका गतिविधि र कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरूलाई एकै ठाउँमा ल्याउने कार्य भइरहेको उनले जानकारी दिए। चाडपर्वपछि देशको परिस्थितिको मूल्याङ्कन गर्दै सरकारका गतिविधिहरूविरुद्ध सशक्त आन्दोलनमा उत्रिने तयारी भइरहेको उनले बताए।

उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपले आवाज उठाउँछौँ। सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ। त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।’
आन्दोलनको तयारीबारे स्पष्ट पार्दै उनले थपे, ‘त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ। चाडपर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।’
प्रकाशित मिति : September 18, 2026 at 4:00 pm




