आईपीओ निष्काशनमा धितोपत्र बोर्डको नयाँ कडाइः तीन वर्षको वित्तीय विवरणदेखि सञ्चालकको ‘फिट एन्ड प्रोपर’ परीक्षणसम्म
२ असाेज, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न चाहने कम्पनीका लागि थप कडा तथा विस्तृत योग्यता मापदण्ड प्रस्ताव गरेको छ। बोर्डले तयार पारेको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३ (मस्यौदा)’ मा कम्पनीको वित्तीय अवस्था, संस्थागत सुशासन, सञ्चालक तथा व्यवस्थापनको योग्यता, सूचना प्रवाह, जोखिम व्यवस्थापन र आईपीओबाट उठेको रकमको प्रयोगसम्मलाई नियमनको दायरामा ल्याउने प्रस्ताव गरिएको छ।
मस्यौदाअनुसार सार्वजनिक निष्काशन गर्न चाहने प्रत्येक संगठित संस्थाले वित्तीय, संस्थागत सुशासन, प्रशासनिक तथा अन्य तोकिएका योग्यता मापदण्ड पूरा गर्नुपर्नेछ। कम्पनीले आवश्यक कानुनी अनुमति लिएको, लेखापरीक्षण तथा वार्षिक साधारणसभा सम्पन्न गरेको र आईपीओबाट प्राप्त हुने रकमको स्पष्ट उपयोग योजना साधारण सभाबाट स्वीकृत गराएको हुनुपर्ने प्रस्ताव छ।
त्यस्तै, कम्पनीले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याई कम्तीमा विगत तीन वर्षको वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुपर्नेछ। वेबसाइटमा व्यावसायिक सम्भावना र चुनौती, भावी योजना तथा सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृतको योग्यता, अनुभव र कम्पनीमा रहेको लगानीसमेत खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदाले आईपीओका लागि आवेदन दिनुअघि कम्पनीले पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण आफ्नो तथा निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ।

सार्वजनिक निष्काशनबाट प्राप्त रकमको विस्तृत उपयोग योजना विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ। रकम कुन उद्देश्यमा, कति समयमा र अपेक्षित परिणाम के हुने भन्ने कुरा स्पष्ट पार्नुपर्ने मस्यौदामा व्यवस्था छ। बोर्डको पूर्वस्वीकृतिबिना आईपीओबाट प्राप्त रकम स्वीकृत उद्देश्यभन्दा फरक प्रयोजनमा प्रयोग गर्न नपाइने प्रस्ताव गरिएको छ।
वित्तीय योग्यताका हिसाबले कम्पनीको प्रतिशेयर नेटवर्थ कम्तीमा प्रतिशेयर अङ्कित मूल्यभन्दा कम हुन नहुने व्यवस्था गरिएको छ। वित्तीय विवरणहरू नेपाल वित्तीय प्रतिवेदन मापदण्ड वा तोकिएको मान्यता प्राप्त लेखामान अनुसार तयार पारिएको र स्वतन्त्र लेखापरीक्षकबाट लेखापरीक्षण भएको हुनुपर्छ।
आईपीओ जारी गर्न चाहने कम्पनीका संस्थापक शेयरधनी, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलगायत व्यवस्थापनमा रहेका व्यक्तिको ‘फिट एन्ड प्रोपर’ परीक्षण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यस क्रममा व्यावसायिक प्रतिष्ठा, आवश्यक योग्यता तथा अनुभव, वित्तीय अनुशासन, कानुनी तथा नियामकीय अनुपालन र स्वार्थको द्वन्द्वलगायत विषयलाई मूल्याङ्कनको आधार बनाइनेछ।
मस्यौदाअनुसार संस्थापक शेयरधनी, सञ्चालक तथा प्रमुख व्यवस्थापन पदाधिकारीले बोर्डले तोकेको ढाँचामा ‘फिट एन्ड प्रोपर डिक्लेरेसन’ पेश गर्नुपर्नेछ। त्यसमा व्यक्तिगत विवरण, शैक्षिक योग्यता, व्यावसायिक अनुभव, नियामकीय इतिहास, कानुनी विवाद, वित्तीय दायित्व तथा स्वार्थको द्वन्द्वसम्बन्धी विवरण समावेश गर्नुपर्नेछ।
यदि लेखापरीक्षकले प्रतिकूल राय दिएको, राय दिन अस्वीकार गरेको वा व्यवसायको निरन्तरतामा गम्भीर शंका व्यक्त गरेको अवस्थामा निष्काशनको स्वीकृति अस्वीकार हुन सक्नेछ। यसका साथै वास्तविक व्यावसायिक कारोबारबाट प्राप्त आम्दानी र व्यवस्थित नगद प्रवाह हुनुपर्नेछ भने कर तथा अन्य वित्तीय दायित्वहरू चुक्ता वा सोको कानूनी प्रावधान अनुसार व्यवस्था गरिएको हुनुपर्छ।
भ्रामक विवरण पेश गरेमा, तथ्य लुकाएमा, वा संकलित रकमको दुरुपयोग गरेमा बोर्डले निष्काशन प्रक्रिया स्थगन वा रद्द गर्न सक्नेछ। साथै, आर्थिक दण्ड, चेतावनी, वा सम्बन्धित व्यक्ति तथा निष्काशन र बिक्री प्रबन्धक, लेखापरीक्षक जस्ता व्यावसायिक संस्थालाई निष्काशन प्रक्रियामा सहभागी हुन रोक लगाउनेसम्मको कारबाही बोर्डले गर्न सक्नेछ।

प्रकाशित मिति : September 18, 2026 at 10:23 am




