लाभांश पारित गर्न निफ्राले बोलायो साधारणसभा, बुक क्लाेज कहिले ?
२ असाेज, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले वार्षिक साधारणसभा बोलाएको छ। बैंकको सञ्चालक समितिको १९३औं बैठकको निर्णयअनुसार असोज २३ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजे आठौं वार्षिक साधारणसभा सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।
सभामा बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पेस हुनेछ। प्रस्तावित लाभांश रकम १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ रहेको छ जसमा लाभांश करसमेत समावेश छ।
त्यस्तै सर्वसाधारण सेयरधनी समूहबाट निर्वाचित दुई सञ्चालकमध्ये लिमा अधिकारी आचार्यले राजीनामा दिएपछि उनको स्थानमा सञ्चालक समितिको निर्णयबाट नियुक्त अनिता रायमाझीको नियुक्ति बाँकी कार्यकालका लागि अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसकाे अर्थ असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई बैंकको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा नामसारी भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा लाभांश पाउनेछन्।
प्रकाशित मिति : September 18, 2026 at 9:37 am




