सांसद बरालको प्रश्नः बालेन सरकारले जनतालाई ग्यास नदिएर मार्न लागेको हो ?
१ असाेज, काठमाडौं । नेकपा एमालेकी सांसद यशुदा कुमारी बराल ग्यास अभावले जनता भोकै पर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास नपाउँदा जनता समस्यामा परेको र सरकारले त्यसबारे जवाफदेही बन्नुपर्ने बताइन् ।
उनले ग्यासको व्यवस्थापनमा सरकारको ध्यान छ कि छैन ? भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘जनता भोकमरीमा पर्न थाले, हिटलरले ग्यास च्याम्बरमा मान्छे हालेर मारेको थियो, बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो? निरङ्कुशता शैली हो? किन आएन ग्यास? बजारमा किन महँगी भयो? जनताहरू भोकमा छन् भन्ने कुराहरू किन सरकारले जवाफदेही हुँदैन?’
बरालले एमालेमा आबद्ध व्यक्तिले ग्यास लुकाएको भनेर अफवाह फैलाउनेलाई कारबाहीको माग गरेकी छन् । उनले ग्यास लुकाएको हो भने एमालेलाई कारबाही गर्नुपर्ने र अफवाहको समाचार लेखाइएको हो भने मिडिया र सम्बन्धित निकायलाई कारबाहीको माग गरिन् ।

‘बजारमा एमालेले ग्यास लुकाएर ग्यास पाइएन भनेर लेख्ने मिडिया या लेखाउने सरकार यहाँको माननीयज्यू को हो ? कि एमालेले ग्यास लुकाएको हो भने एमालेलाई कारबाही होस् । होइन भने कसले लेखाएको हो, मिडिया र सम्बन्धित निकायलाई कारबाहीको माग गर्दछु,’ उनले भनिन् ।
बरालले सरकारलाई जनताको समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै सभामुखमार्फत सरकारलाई तत्काल समस्या समाधानका लागि निर्देशन दिन माग गरिन् । ‘सभामुखज्यूले एक हप्ताभित्र सरकारलाई के समस्या हो, किन समस्या हो, बजारमा जनताहरू किन भोकमरीमा छन्, किन समस्यामा छन् भनेर निर्देश दिनको लागि म सभामुखज्यूलाई आग्रह गर्दछु,’ उनले भनिन् ।
प्रकाशित मिति : September 17, 2026 at 2:44 pm



