विदेशीले दिएको आधा नेपालीलाई एक वर्ष पुग्ने राहत सामग्री एयरपोर्टमा थन्कियोः सांसद न्यौपाने
१ असाेज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले विभिन्न देश र दाता निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै दातृ निकायले दिएको सामग्री विमानस्थलको कार्गोमा राख्दा राम्रो सन्देश नजाने बताए।
उनले ती सामग्रीहरूको तस्बिरसहित प्रमाण पेस गर्दै सरकारले तत्काल तिनको व्यवस्थापन गर्नुपर्ने माग गरे । ‘मैले भर्खरै विमानस्थलको कार्गोमा अलपत्र रहेका राहत सामग्रीहरू देखेर आएँ । त्यहाँ कोरोना कालका २० कन्टेनर सामान अलपत्र छन् । यस्तै, अन्य विदेशी दाताहरूले दिएका लत्ताकपडा लगायतका अत्यावश्यक सामग्रीहरू पनि थन्किएका छन्,’ सांसद न्यौपानेले भने, ‘आधा नेपाललाई वर्ष दिन पुग्ने राहत सामग्रीहरू यसरी थन्किनु र प्रयोगमा नआउनु लज्जास्पद छ।’

सांसद न्यौपानेले विमानस्थलमा अलपत्र सामग्रीहरू र देशभर पिरोलिएका नागरिकका लागि ती सामग्रीहरू मलम बन्न सक्ने उल्लेख गर्दै सरकारले तत्काल एक्सन लिनुपर्ने बताए । ‘विमानस्थलमा अलपत्र परेका सामग्रीहरूबाट नागरिकलाई पीडित भएको ठाउँमा राहत पुर्याउन सकिन्छ । मलमपट्टी गर्ने सामग्री नै नभएको समाचार सुन्न नपरोस्, सरकारले तत्काल यस्तो अवस्थाको अन्त्य गरोस्,’ उनले भने ।
प्रकाशित मिति : September 17, 2026 at 2:25 pm



