३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

एमालेभित्र केही भएको छैन, हुनेवाला पनि छैनः सूर्य थापा

३१ भदौ, काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पार्टीभित्रको आन्तरिक अवस्थाबारे सञ्चारमाध्यममा आएका पछिल्ला समाचार र विश्लेषण तथ्यमा आधारित नभएको टिप्पणी गरेका छन्।

बल्थलीबाट फर्किएपछि एमालेभित्रको सन्तुलनको लेखाजोखा भन्दै फेसबुकमा लामो टिप्पणी लेख्दै थापाले एमालेभित्रको सन्तुलनबारे सार्वजनिक रूपमा निर्माण गरिएको भाष्य र पार्टीको वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको दाबी गरेका छन् । उनले केही सञ्चारमाध्यमले तथ्यको उपेक्षा गर्दै एमालेमा नेतृत्व परिवर्तनको माहोल सिर्जना गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निर्माणको इतिहासदेखि पछिल्ला राजनीतिक घटनाक्रमसम्मका विभिन्न आठ आधार प्रस्तुत गर्दै ओलीलाई तत्काल नेतृत्वबाट हटाउने अवस्था नरहेको जिकिर गरेका छन्।

उनका अनुसार ओली केन्द्रीय कमिटीबाट प्रस्तावित भएर परम्परागत शैलीमा अध्यक्ष बनेका होइनन्, प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका हुन् । उनले ओलीले पार्टी नेतृत्वमा आउँदा कहिल्यै सर्वसम्मतको बाटो नअपनाएको उल्लेख गरेका छन् ।

थापाले नवौं महाधिवेशनमा ओलीले माधवकुमार नेपालको प्यानललाई प्रतिस्पर्धामा पराजित गर्दै करिब १०२ मतान्तरले अध्यक्ष निर्वाचित भएको स्मरण गरेका छन्। त्यतिबेला अहिलेका कतिपय पदाधिकारी नेपाल नेतृत्वको प्यानलमा रहेको उनको भनाइ छ।

त्यसैगरी, दशौं राष्ट्रिय महाधिवेशनमा डा. भीम रावलले अध्यक्षमा चुनौती दिँदा ओली भारी मतान्तरले विजयी भएको थापाले उल्लेख गरेका छन्। उनका अनुसार उक्त निर्वाचनमा रावलले करिब २६० र ओलीले करिब १ हजार ९०० मत प्राप्त गरेका थिए। पार्टी विभाजनको अवस्थामा भएको उक्त महाधिवेशनमा समेत ओलीलाई निर्विकल्प वा सर्वसम्मत अध्यक्ष बन्न नदिइएको उनले बताएका छन्।

एघारौं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेलले प्यानल नै बनाएर ओलीलाई चुनौती दिन खोजेको उल्लेख गर्दै थापाले दुई प्यानलबीच निर्वाचन हुँदा ओली करिब ७५ प्रतिशत मतसहित विजयी भएको दाबी गरेका छन्। ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पोखरेल नेतृत्वको प्यानलबाट एक उपाध्यक्ष, एक उपमहासचिव र करिब एक दर्जन केन्द्रीय सदस्य मात्रै निर्वाचित भएको उनले बताएका छन्।

थापाले ओलीको प्रधानमन्त्रीका रूपमा राजनीतिक यात्रामा समेत सहज र स्वाभाविक रूपमा सत्ता हस्तान्तरण नभएको दाबी गरेका छन्। २०७२ सालमा पार्टीभित्र र गठबन्धनमा दरार पैदा गरेर हटाइएको, २०७७ सालमा पार्टी विभाजनको अवस्था आएको तथा आफ्नै सांसदहरूले राष्ट्रपतिसमक्ष समावेदन र सर्वोच्च अदालतमा रिट दायर गरेपछि अदालतको परमादेशबाट हटाइएको उनले उल्लेख गरेका छन्।

त्यसैगरी, २०८२ सालमा ‘जेन्जी पुस्ताको दुरुपयोग गरी देशी–विदेशी षड्यन्त्रको निशाना बनाएर’ ओलीलाई सत्ताबाट विस्थापित गरिएको थापाको दाबी छ। यी घटनालाई आधार बनाउँदै उनले ओलीले अन्य प्रधानमन्त्रीहरूले जस्तो सहज, स्वाभाविक र सम्मानजनक रूपमा विदा लिन नपाएको बताएका छन्।

थापाले केही अनलाइन सञ्चारमाध्यमले गत फागुनको अन्तिम सातादेखि नै ओलीले नेतृत्व छाड्नुपर्ने भन्दै समाचार तथा सामग्री प्रकाशन गर्दै आएको र जेठपछि मूलधारका सञ्चारमाध्यमसमेत ओलीलाई हटाउने ‘मिसन’मा सक्रिय भएको आरोप लगाएका छन्।

तर ओलीलाई पार्टी अध्यक्षबाट हटाउने वैधानिक बाटो नरहेको उनको दाबी छ। राष्ट्रिय महाधिवेशनले मात्रै नेतृत्व चयन गर्ने भन्दै थापाले केही उपाध्यक्ष र महासचिवले मोर्चाबन्दी गरेर पुनर्गठनका नाममा ओलीलाई हटाउन खोजे पनि त्यो सम्भव नभएको बताएका छन्।

‘एकथरिले बलजफ्ती गर्दा ओलीजति पोजिसन लिन र कठोर निर्णयमा पुगेर निर्ममताका साथ लड्न सक्ने अरू नेताहरू मैले कसैलाई देखेको छैन,’ थापाले लेखेका छन्।

उनले नेतृत्वको हेरफेरसम्बन्धी बहस राष्ट्रिय महाधिवेशनको क्रममा हुनुपर्ने बताएका छन्। राष्ट्रिय महाधिवेशनमा छुट्टाछुट्टै प्यानलबाट प्रतिस्पर्धा गरेर जितेका वा हारेका नेताहरूले त्यही प्रक्रियाबाट नेतृत्व परिवर्तनको बहस गर्नुपर्ने उनको भनाइ छ।

ओलीलाई अध्यक्षबाट हटाइने तथा विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ एक ठाउँमा उभिएपछि ओलीको केही नलाग्ने भन्नेगरी सञ्चारमाध्यममा आएका समाचार र विश्लेषणसमेत तथ्यहीन भएको थापाले दाबी गरेका छन्।

ओलीको गिरफ्तारीसँगै नेतात्रयबीच गठजोड वा मोर्चाबन्दी बनेको भनिए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उनको टिप्पणी छ। उनले त्यसलाई ‘अण्डा कोरलिएर २२ दिनमा चल्ला बन्न नसकेपछि स्वयं बतासे अण्डाजस्तो’ भएको भन्दै व्यंग्य गरेका छन्।

थापाले सञ्चारमाध्यमलाई ‘मिडिया ट्रायल’ र ‘स्टन्टबाजी’ छाडेर तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। आफू २५ वर्ष पत्रकारिता गरेको अनुभवका आधारमा मूलधारका सञ्चारमाध्यमले ओलीसम्बन्धी आफ्नो सम्प्रेषणको न्यूजरूम र सम्पादकीय तहमा गम्भीर समीक्षा गर्नुपर्ने उनको सुझाव छ।

‘ओलीविरुद्धको मिसन सञ्चालन गरेर मिडियाले केही पाउँदैन, विश्वसनीयता मात्रै गुमाइरहेछ,’ थापाले भनेका छन्।

उनले पछिल्ला वर्षहरूमा सचिवालय, केन्द्रीय कमिटी, महाधिवेशन प्रतिनिधि परिषद्, विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनका सन्दर्भमा ओलीलाई नेतृत्वबाट हटाउने विषयमा सञ्चारमाध्यमले निरन्तर समाचार सम्प्रेषण गरे पनि अन्तिम निर्णयहरू त्यसको विपरीत हुने गरेको दाबी गरेका छन्।

थापाको निष्कर्षमा ओलीले नेतृत्वबाट विदा लिने भए नियमित प्रक्रियाबाट, सम्मानजनक वातावरणमा र आफूभन्दा योग्य तथा प्रभावकारी क्षमता र हैसियत भएको नयाँ नेतृत्व निर्माण भएपछि मात्रै लिनेछन्।

‘उहाँले दिएर नेतृत्व लिनुभएको होइन, बलपूर्वक दिएर हस्तान्तरण पनि शायदै होला,’ थापाले फेसबुक टिप्पणीको अन्त्यमा लेखेका छन्।

प्रकाशित मिति : September 16, 2026 at 12:08 pm