२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

किस्पाङ गाउँपालिका भोटेकोशी बाढीमा आमा–बुवा गुमाएका बालबालिकाको पूर्ण अभिभावक बन्ने

२८ भदौ, काठमाडौँ । भोटेकोशी बाढीका कारण आमा–बुवा गुमाएका बालबालिकाको गाँस, बास र कपासदेखि शिक्षा र स्वास्थ्यसम्मको जिम्मेवारी नुवाकोटको किस्पाङ गाउँपालिकाले लिने भएको छ।

गाउँपालिकाले आमा–बुवा दुवै गुमाएका बालबालिकाका लागि त्रिभुवन माध्यमिक विद्यालय अर्चलेमा बाल स्याहार केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रमार्फत उनीहरूलाई गाँस, बास, मनोरञ्जनसहितको अभिभावकत्व प्रदान गरिनेछ।

किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले दैनिकी संवादमा माधव्रसाद तिवारीसँग कुरा गर्दै बाढीका कारण आमा–बुवा दुवै गुमाएका १२ जना र आमा वा बुवामध्ये एक जना गुमाएका ३५ जना विद्यार्थीका लागि गाउँपालिकाले यो सेवा उपलब्ध गराउने जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा बाढीबाट प्रभावित बालबालिकाको पहिचान गरी उनीहरूको आवश्यकताअनुसार संरक्षण र स्याहारको व्यवस्था गरिनेछ। बालबालिकालाई सुरक्षित वातावरणमा राखेर नियमित शिक्षा तथा स्वास्थ्य सेवासमेत सुनिश्चित गरिने गाउँपालिकाको योजना छ।

यसरी गाउँपालिकाको निर्णयबाट आमा–बुवा दुवै गुमाएका १२ जना तथा एक जना अभिभावक गुमाएका ३५ जना गरी ४७ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

भोटेकोशीमा आएको विनाशकारी बाढीले किस्पाङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको भविष्य अन्योलमा नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले तत्काल राहतसँगै दीर्घकालीन संरक्षणको योजना अघि सारेको हो।

बाल स्याहार केन्द्रमा बालबालिकालाई बसोबास र खानपानको व्यवस्था मात्रै नभई मनोरञ्जन, शिक्षा, स्वास्थ्य र पारिवारिक वातावरणसहितको अभिभावकत्व प्रदान गर्ने गाउँपालिकाको तयारी छ।

विपद्पछि घरबार तथा अभिभावक गुमाएका बालबालिकालाई राज्यको संरक्षणमा राख्ने विषयमा बहस भइरहेका बेला किस्पाङ गाउँपालिकाले स्थानीय तहमै उनीहरूको गाँस, बास, शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने निर्णय गरेको हो।

प्रकाशित मिति : September 13, 2026 at 5:27 pm