२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

सर्वोच्चको निस्साबाटै आधा जितिसक्यौं, न्याय पाउने विश्वास छः देउवा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् ।

उनले सभापति गगन थापा समूहबाट सर्वोच्च अदालतमा आफूहरूलाई आधिकारिकता नदिनको लागि दबाब गइरहेको दाबी गरे। उनले भने, ‘निर्वाचन आयोगका प्रमुखले मेरो ज्यानको खतरा भयो भनेको छ। मैले भनेको होइन। सबैले सुनेको कुरा हो। हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ। चुनाव भइसक्यो के गर्ने? भन्यो। हामीले पुनरावलोकनमा गयौँ। पुनरावलोकनले निस्सा दियो हामीलाई। निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो।’

dainiki.com

देउवाले आफूहरूलाई पार्टीको आधिकारिकताबाट बञ्चित गर्ने प्रयास भइरहेको पनि आरोप लगाए । ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ,’ देउवाले भने, ‘तर, हामी कुनै हालतमा मान्दैनौं ।’

उनले गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको जिकिर गरे। ‘गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्‍यो भन्नुभयो । मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीमा, त्यसका लागि को–को भाग लिने हो उसको सनाखत हुनुपर्‍यो । कुन जिल्लाको, कुन क्षेत्रको, कुन गाउँपालिकाको हो, त्यसको नाम सब चाहियो, सनाखत हुनपर्‍यो, बिना सनाखत गर्न पाइन्छ ? पहिले पनि बोलाइएको थियो । पार्टी सभापति सुवर्ण शमशेर हुँदा बोलाइएको हो । अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन । तिमी बोलाउन पाउँछौं ? मलाई थाहै छैन बोलाइ दिने भन्दा हुन्छ दाइ, विचार गर्छु दाइ भनेर अचानक बोलाइदिए ।’

प्रकाशित मिति : September 9, 2026 at 5:39 pm