२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

केपी ओलीको प्रश्नः २४ भदौको विध्वंशका आरोपीलाई किन उन्मुक्ति दिइँदै छ ?

२४ भदाै, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस नवयुवाको आक्रोशबाट भएको घटना नभई लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याउने योजनाको परिणाम भएको आरोप लगाएका छन्।

भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै ओलीले २४ भदौलाई कहाली लाग्दो विध्वंश भएको दिनको रूपमा स्मरण गरेका छन् । ‘भदौ २४ को त्यो त्रासदी अघिल्लो दिन नवयुवाहरुको ज्यान गएको घटनाबाट सिर्जित कुनै आवेग या आक्रोशको घटना थिएन। त्यो त राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोर्स’ लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप थियो’ उनले भनेका छन्, ‘आज पनि प्रश्न अनुत्तरित छ २४ भदौको विध्वंशका आरोपीहरूलाई किन उन्मुक्ति दिइँदै छ ? किन प्रतिवेदनहरू गुपचुप राखिँदै छ ?’

dainiki.com

ओलीले भदौ २४ को घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेका छन्। शान्तिपूर्ण भनेर अनुमति लिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थियो भन्ने यथार्थ बाहिर ल्याउनुपर्ने उनको भनाइ छ। नवयुवाहरूको मनसाय र सरोकार असल थियो भन्नेमा आफूहरू विश्वस्त रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘तर जेनजी विद्रोहका नाममा गराइएको हिंसाबाट अर्कै तत्वहरूले अनुचित लाभ लिए ।’

ओलीले अहिले पनि युवाहरूमा निराशा व्याप्त रहेको बताएका छन् । भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिने र उनीहरुविरुद्ध सुरु भएका अनुसन्धान तथा अभियोजनका प्रक्रिया रोकिएको भन्दै उनले यसले ‘राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको’ आरोप लगाएका छन्। ओलीले सुरक्षा निकायले राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथिको आक्रमण रोक्न किन सकेनन् भन्ने प्रश्नसमेत उठाएका छन्। ‘नेपाल राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित छ,’ उनले भनेका छन्।

प्रकाशित मिति : September 9, 2026 at 10:51 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/