२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

जेनजी आन्दोलन परम्परागत राजनीतिप्रतिको अस्वीकृति पत्र होः रवि लामिछाने

२३ भदौ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन् । भदौ २३ र २४ गतेको ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै सभापति लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन् ।

dainiki.com

उनले आन्दोलनलाई परम्परागत राजनीतिक शैलीप्रतिको युवापुस्ताको स्पष्ट ‘अस्वीकृति पत्र’को संज्ञा दिएका छन् । आन्दोलनका क्रममा जीवन गुमाउने अमर सहिदहरू तथा कर्तव्य पालनका क्रममा ज्यान गुमाउने प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, ‘परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो । भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्।’

 राज्यले आन्दोलनका घाइतेहरूको पूर्ण उपचार, दीर्घकालीन पुनर्स्थापना र सहिद परिवारको उचित हेरचाहको दायित्व पूरा गर्ने विश्वाससमेत उनले दिलाएका छन्। राजनीतिमा हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज आफूहरूलाई उभ्याएको लामिछानेले बताएका छन्। नागरिक समाज र आम जनसमुदायलाई रचनात्मक खबरदारी जारी राख्न अपिल गर्दै उनले भने, ‘हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस् । तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ।’

 

प्रकाशित मिति : September 8, 2026 at 1:38 pm