रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग
२३ भदौ, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरिएको संस्थाले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इन्क (बीवाइडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डिजिपलका प्रतिनिधि उत्सव कार्की सहभागी थिए ।

सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले रकमभन्दा यसको उद्देश्य महत्वपूर्ण रहेको बताइन् । विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्न यो सहयोग गरिएको उनले भनिन् । उनले नाइमामा आबद्ध अटोमोबाइल आयातकर्ता र उत्पादक कम्पनीहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकटका बेला सरकार र प्रभावित समुदायसँग सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति : September 8, 2026 at 12:41 pm


