बाढी प्रभावित जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो
२२ भदौ, काठमाडौं । बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने गरी स्वास्थ्य बीमा बोर्डले विशेष व्यवस्था गरेको छ।
स्वास्थ्य बीमा बोर्डको भदौ २२ गतेको निर्णयअनुसार भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको अप्रत्याशित बाढीबाट प्रभावित तीनवटै जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र तोकिएको हो। यस अवधिमा ती जिल्लामा स्वास्थ्य बीमा सेवा सहज रूपमा सञ्चालन गर्न स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ।
बोर्डले विपद् प्रभावित नागरिकलाई स्वास्थ्य बीमा सेवामा लाग्दै आएको सहभुक्तानी र क्यापिङ हटाउने निर्णय गरेको छ। अर्थात् तोकिएको अवधिमा प्रभावित क्षेत्रका बीमितले स्वास्थ्य सेवा लिँदा नियमित रूपमा तिर्नुपर्ने सहभुक्तानी रकम नलाग्ने भएको छ।

त्यस्तै, बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा पनि नागरिकलाई उपचारबाट वञ्चित नगर्न बोर्डले व्यवस्था गरेको छ। परिचयपत्र नभएका बीमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी आईएमआईएस–यूजर प्रणालीमार्फत स्वास्थ्य बीमा सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा। पवनकुमार साहद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको छ।
यस व्यवस्थाबाट बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकले स्वास्थ्य बीमामार्फत उपचार लिन थप सहज हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : September 7, 2026 at 4:40 pm


