तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३५ अर्ब निक्षेप उठाउँदै
२२ भदाै, काठमाडाैं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३५ अर्ब रुपैयाँ बराबरको २ महिना अवधिका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत जारी गर्न लागेको हो। यस उपकरणको अवधि ६० दिन रहनेछ।
राष्ट्र बैंकले आज सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गर्न लागेको जनाएको छ। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ।

यसको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा १० करोड रुपैयाँका दरले रकमका लागि आवेदन दिन सक्नेछन्। आवश्यकताअनुसार आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सकिनेछ। यसको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक २० गते गरिनेछ।
प्रकाशित मिति : September 7, 2026 at 11:30 am


