२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

राप्रपाका महामन्त्री शरदराज पाठकले दिए पार्टीबाट राजीनामा

२१ भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीका सबै जिम्मेवारी र सदस्यतासमेत परित्याग गर्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन् । पाठकले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्रीलगायत पार्टीका सबै जिम्मेवारी परित्याग गरी आजकै मितिबाट पार्टी सदस्यसमेत नरहने गरी अलग हुने निर्णय गरेको जानकारी दिएका हुन्।

करिब चार वर्षअघि राप्रपालाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति इमानदार, सबै उमेर, वर्ग, समुदाय र भूगोलका नागरिकले भरोसा गर्न सक्ने राजनीतिक दलका रूपमा रूपान्तरण गर्ने सहमतिसहित आफू एउटा समूहसँगै राप्रपामा आबद्ध भएको उनले बताएका छन्। त्यही सहमति राप्रपासँगको आफ्नो एकताको आधार रहेको उनको भनाइ छ।

तर, आफूले अपेक्षा गरेको दिशामा पार्टी अघि बढ्न नसकेको भन्दै पाठकले राप्रपाको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले चार वर्षको अवधिमा ठोस र परिणाममुखी काम हुन नसकेको तथा पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रहेको आरोप लगाएका छन्।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारालाई मूलमन्त्र मानेको बताउने राप्रपाभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको ठूलो अभाव रहेको पाठकले उल्लेख गरेका छन्।

उनले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै आन्तरिक बेमेल र गुटगत स्वार्थका कारण हुने तिक्त संघर्ष झनै बढ्दै गएको बताएका छन् । यही अवस्थाका कारण नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवालाई राप्रपाले आकर्षित गर्न नसकेको उनको निष्कर्ष छ।

आफूसहित नयाँ जोडिएका नेताहरूले समेत पार्टीको उक्त अवस्था परिवर्तन गर्न सक्ने सम्भावना नदेखेको पाठकले बताएका छन् । यद्यपि, पार्टीमा परिवर्तन ल्याउन नसक्नुमा आफ्ना पनि कमजोरी हुन सक्ने उनले स्वीकार गरेका छन्।

पाठकले राप्रपाका तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको भने प्रशंसा गरेका छन्। विभिन्न तहमा रहेका अनगिन्ती नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता अतुलनीय तथा प्रेरणादायी रहेको भन्दै उनले उनीहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

पार्टीमा रहँदा सहयोग, शुभेच्छा, सद्भाव र आलोचनात्मक दृष्टिकोण प्रदान गर्ने सबै नेता, सदस्य तथा शुभचिन्तकप्रति उनले आभारसमेत व्यक्त गरेका छन्। पाठकले आगामी राजनीतिक यात्राका बारेमा भने आफूले बाटो नछाडेको संकेत गरेका छन् । एक दशकको सक्रिय राजनीतिक यात्रा र त्यसअघि सक्रिय सञ्चारकर्मबाट आर्जित अनुभव तथा विश्वासको पुँजीलाई आगामी दिनमा राष्ट्र, राष्ट्रियता, सुशासन र नागरिक हितमा थप परिष्कृत रूपमा उच्च प्रतिबद्धतासहित समर्पित गर्ने उनले बताएका छन् ।

राप्रपाका महामन्त्री पाठकको पार्टीबाट बहिर्गमनलाई पछिल्लो समय पार्टीभित्र देखिँदै आएको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको प्रश्नसँग जोडेर हेरिएको छ । पाठकले २१ भदौ २०८३ मा जारी गरेको विज्ञप्तिमार्फत पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : September 6, 2026 at 5:17 pm