२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

ऋण असुलीका नाममा ऋणीलाई यातना र धरपकड गरे प्रशासनमा उजुरी गर्न गृहको निर्देशन

२१ भदाै, काठमाडौं । ऋण असुलीका नाममा ऋणीलाई यातना दिने, घरबाट सामान उठाएर लैजाने तथा घरमै बसेर धरपकड गर्ने जस्ता गैरकानुनी गतिविधि भए जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै ऋण असुलीका क्रममा हुने ज्यादती रोक्न र त्यस्ता कार्यमा संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले २०८३ भदौ १८ गते पठाएको पत्रमा ऋण असुलीका क्रममा ‘ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने, गालीबेइज्जती तथा दुर्व्यवहार गर्ने’ जस्ता कार्य भएमा पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्ने उल्लेख छ।

त्यसरी उजुरी परेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई भनेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र तथा मन्त्रिपरिषद्को निर्णयअनुसार भएको सहमतिको कार्यान्वयनका लागि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो। पत्रमा सम्बन्धित सहमतिको विवरणसमेत जिल्ला प्रशासन कार्यालयहरूलाई पठाइएको उल्लेख छ।

यसअघि ऋण असुलीका क्रममा विभिन्न वित्तीय संस्थाका कर्मचारी तथा प्रतिनिधिबाट ऋणीमाथि दबाब, दुर्व्यवहार र ज्यादती हुने गरेको गुनासो सार्वजनिक हुँदै आएका थिए। गृह मन्त्रालयको पछिल्लो पत्रले यस्ता कार्यलाई प्रशासनिक तहबाटै सम्बोधन गर्ने बाटो खुला गरेको छ।

प्रकाशित मिति : September 6, 2026 at 8:18 am