१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

बाढीपीडितका लागि नाडाले गर्यो १० लाख रुपैयाँ सहयोग

१८ भदाै, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नाडाले जनाएको छ।

dainiki.com

भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायत क्षेत्रमा आएको बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग गरिएको हो। नाडाले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ। प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण भइरहेको नाडाले जनाएको छ।

नाडाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको भन्दै राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ। चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल र सहकोषाध्यक्ष निलमणि पाठकलगायत सहभागी थिए।

प्रकाशित मिति : September 3, 2026 at 5:57 pm