विपद् व्यवस्थापनमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने रास्वपाको निष्कर्ष
१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण साथ दिने निर्णय गरेको छ। बिहीबार बसेको सचिवालय बैठकमा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोजी, उद्धार, राहत तथा सरकारले गरिरहेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए।
विपद् व्यवस्थापन तथा राहतका लागि सरकारको कोषमा हालसम्म ८ अर्ब रुपैयाँ संकलन भएको जानकारी प्राप्त भएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए । सीमित स्रोतसाधनका बाबजुद सरकारले खोजी, उद्धार र राहतमा देखाएको अगुवाइ तथा तदारुकताप्रति बैठकले सन्तोष व्यक्त गर्दै धन्यवाद दिएको खरेलले बताए। खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिँदै प्रभावित नागरिकको पुनःस्थापनाको तयारी पनि सँगसँगै अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल तथा राजनीतिक दलहरूले देखाएको ऐक्यबद्धताबारे जानकारी गराएका थिए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने रास्वपाको निष्कर्ष छ।
प्रकाशित मिति : September 3, 2026 at 4:17 pm


