१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

भोटेकोशी बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग

१८ भदाै, काठमाडाैं। भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल निर्जीवन बीमा व्यवसायी संघले दुःख व्यक्त गर्दै बाढीपीडितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि रु. ३ करोड ४७ लाख सहयोग गरेको छ। नेपाल निर्जीवन बीमा व्यवसायी संघको भदौ १५ गते बसेको बैठकले बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको थियो।

साथै, बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताहरूप्रति हार्दिक आभार व्यक्त गरेको थियो।

संघले बाढीबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको क्षतिको विवरण प्राप्त हुनासाथ सम्बन्धित बीमा दाबीको भुक्तानी प्रक्रियालाई उच्च प्राथमिकतामा राखी शीघ्र भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ। यसै क्रममा, नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा बीमा क्षेत्रले योगदान गर्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिँदै संघ तथा संघमा आबद्ध विभिन्न निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको रु. ३ करोड ४७ लाख सहयोग रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

 भदौ १७ गते संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा उक्त सहयोग रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेको जनाएको छ।

सहयोग गर्ने संस्थाहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स लिमिटेड, नेको इन्स्योरेन्स लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा गरेको योगदानस्वरूप संकलित रु। २६ लाख २३ हजार १८ समेत सोही अवसरमा हस्तान्तरण गरिएको छ।

संघका अनुसार एनएलजी इन्स्योरेन्स लिमिटेड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले यसअघि नै बाढीपीडितका लागि सहयोग रकम हस्तान्तरण गरिसकेका छन्। अन्य निर्जीवन बीमा कम्पनीहरू पनि सहयोग गर्ने प्रक्रियामा रहेका छन्।

सहयोग रकम हस्तान्तरणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको समयमा निर्जीवन बीमा कम्पनीहरूले राहत तथा पुनर्निर्माणका लागि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।संघले विपद्का कारण प्रभावित नागरिक तथा व्यवसायलाई आवश्यक बीमा दाबी भुक्तानीमा सहजीकरण गर्दै बीमा क्षेत्रबाट राहत तथा पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।

प्रकाशित मिति : September 3, 2026 at 1:43 pm