१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

भोटेकोशी बाढीपीडितका लागि हिमालयन रिइन्स्योरेन्सको एक करोड सहयोग

१७ भदाै, काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले बाढी प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक आशिश चन्द न्यौपाने, अन्डराइटिङ हेड दिकदर्शन नेपाल र कार्यकारी निर्देशक सन्तोष केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बाढी तथा विपद्का कारण ज्यान गुमाएका नागरिकका परिवारप्रति कम्पनीले गहिरो समवेदना व्यक्त गरेको छ । साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आगामी दिनमा पनि सहयोगका हात अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

कम्पनीका अनुसार उक्त सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको हो । विपद्का कारण प्रभावित नागरिकलाई तत्कालीन राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका काममा समेत सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

प्रकाशित मिति : September 2, 2026 at 4:18 pm