प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्नः आउनुहुन्छ अरूको अनुहार नै नहेरी जानुहुन्छ, यो के तरिका हो ?
१७ भदाै, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहले कसैको अनुहार हेर्न नखोजेको भन्दै टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोसी बाढीका विषयमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारलाई सबैको साथ हुँदाहुँदै पनि काम गर्न नसकेको जिकिर गरे।
‘सरकारको मुख्य नेतृत्व संवदेनशील र जिम्मेवार हुनुपर्ने हो, आज आउनुभयो, केही ब्रिफिङ सुनाउनुभयो। म उहाँलाई यसअर्थमा त धन्यवाद नै भन्न चाहन्छु,’ प्रचण्डले थपे, ‘तर, उहाँले अरुलाई पनि विश्वासमा लिनुपर्छ। अरुका अनुभव पनि महत्त्वपूर्ण हुनसक्छ भन्नेतिर ध्यान दिए जस्तो लागेन।’
प्रधानमन्त्री शाहले आफ्नै दलका सांसदलाई पनि विश्वासमा लिन नसकेको प्रचण्डकाे आरोप थियाे। ‘संसद्लाई विश्वास लिनु भनेको खाली प्रतिपक्षका सांसदलाई मात्रै होइन। कार्यशैलीले के देखाउछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहेनत गरेको मैले चाहीँ देखिनँ,’ प्रचण्डले भने।

‘उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’, प्रचण्डले असन्तुष्टि जनाउँदै भने, ‘यस्तो त हुँदैन, प्रधानमन्त्री त सबैको प्रधानमन्त्री हो नि ! सबैले सहयोग गर्छौँ ।’ प्रचण्डले विपद्को सामना गर्नको लागि तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताए ।
उनले भने, ‘बाढीलगत्तै गृहमन्त्रीको सक्रियता हेरेपछि राम्रै पहल हुन्छ भन्ने विश्वास व्यक्त गरेकाे थिएँ। सङ्कटको घडीमा साथ दिएर जानुपर्छ भन्ने कुरामा कुनै राजनीतिक दलको विमति थिएन, हाम्रो पनि थिएन, अहिले पनि छैन।’ उनले प्रधानमन्त्री र मन्त्री सक्रिय पर्याप्त नभएको बताए।
प्रकाशित मिति : September 2, 2026 at 3:25 pm


