१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

भीष्मराज आङ्देम्बेको प्रश्नः सुरुङभित्र भएको मृत्यु हो कि हत्या?

१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले  सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले खोज तथा उद्धारमा भएको ढिलाईका कारण सुरुङभित्र भएको मृत्युको विषयमा सरकारले जिम्मा लिनुपर्ने बताए।

उनले विपदमा कांग्रेस सरकारको साथमा रहेको बताए। ‘विपदमा सत्तापक्ष र प्रतिपक्ष नभनीकन हामी भनेर सामना गर्नुपर्छ। हामी सरकारको साथमा छौं,’ उनले भने।  उनले सुरुङभित्रका मानिसको उद्धारमा भएको ढिलाइमा भने प्रश्न गरेका छन्। सुरुङभित्र ज्यान गुमाएको नभएर ‘हत्या’ भएको उनको टिप्पणी छ।

dainiki.com

‘सुरुङभित्र फसेका मानिसको उद्धारमा आयोजना र निजी क्षेत्रलाई जान नदिने, इन्जिनियर, प्राविधिक तथा विषयविज्ञहरूको कुरा नसुन्ने, आफु एक्सन नगर्ने, अरुलाई गर्न नदिने अनि सात दिन वितिसकेपछि हात उठाएर सरकारले भन्ने- सुरुङमा आफै खोज। यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो?,’ आङदेम्बेको प्रश्न छ, ‘यो असंवेदनशीलता त ढिलाईका कारण ति सुरुङभित्र भएको मृत्यु- हो कि हत्या सभामुख महोदय? बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुक्यो ।  यसको जिम्मा सरकारले लिनुपर्छ। यो मैले भनेको होइन सभामुख महोदय; आफन्त खोजेका परिवारले भनेका थिए तर उनीहरूमाथि गालीगलौज, धम्की र अपशब्द प्रयोग भए। म सरकार र सत्तासिन साथीलाई सोध्न चाहन्छु। संकटमा परेको नागरिकको आवाज सुन्ने कि दबाउने? नागरिकलाई आश्वस्त पार्ने कि थप आतंकित बनाउने?’

उनले सरकार सामाजिक सञ्जालमा अल्झिएको पनि बताए। ‘जोखिम समुदायमा समयमा पुगेन, सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो। हल्लामा लाग्यो,’ उनले भने।

प्रकाशित मिति : September 2, 2026 at 3:10 pm