टनेलमा फसेकाहरूको तुरुन्तै उद्धार गर्न सक्ने प्रविधि विश्वमै छैनः प्रधानमन्त्री
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिपछि उद्धार र राहतका विषयमा आएको गुनासोबारे आफू जानकार रहेको बताएका छन्। । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भोटेकोसी बाढीले पुर्याएको जनधनको क्षति र उद्धारका कार्यबार जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनामा पसेको बाढीको विषयमा विश्वभरिकै देशसँग उद्धार गर्ने विज्ञता नरहेको बताएका छन्। भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीका विषयमा प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री शाहले विश्वको कुनै पनि देशसँग नेपालमा आएको बाढीबाट उद्धार गर्ने क्षमता नरहेको बताएका हुन्।
जलविद्युत आयोजनाका टनेलमा लेदोसहितको बाढी पसेकाले उद्धारमा कठिन भएको उनको भनाइ छ। प्रधानमन्त्री शाहले भने, ‘हाम्रो टनेलमा आएको विपत् विशेष किसिमको छ । विश्वभरि पाइने एक्सपर्टहरूले पहिरो पन्छाएर उद्धार गर्ने गरेका छन् । तर यहाँ पहिरो खसेको होइन । बाढीसँगै हिलो माटोले पूर्णरुपमा टनेलहरु थुनिएका छन् । यससम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन । हामीसँग पनि छैन । तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन ।’

टनेल बाहिर हिरो लेदो भएकाले आर्मी र प्रहरी अडिन पनि मुस्किल अवस्था रहेको उनले बताए । ‘लेदोमा आर्मी र सशस्त्र प्रहरी पनि अडिन सक्ने ठाउँ थिएन । उहाँहरूले सुतेर पुग्ने प्रयास गर्नुभयो । एक्साभेटर र हेलिकोप्टर पनि राख्न सकिने थिएन । त्यो अडिने ठाउँ भएपछि मात्रै त्यहाँ सुरु गरिएको हो,’ उनले भने ।
उनले टनेलभित्र एकै पटक धेरै एक्साभेटर प्रयोग गर्न सुझाव आए पनि त्यो सम्भव नरहेकाे बताए । ‘हामीले चिन्ता लिइरहेको विषय त्यो किन बन्यो भन्दाखेरि, हामीलाई धेरै मानिसहरूलाई चाहिँ हामी घर बस्दाखेरि अथवा गएर पर विदुरसम्म पुगेर हेर्दा पनि त्यही ठाउँको, त्यही टनेलकै मुखको अवस्था कस्तो छ थाहा हुँदैन। अनि हामी प्राय: गुगल गर्छौ, एआइलाई सोध्छौं, आफ्नो साथीभाइ कोही जियोलोजिस्ट हुनुहुन्छ भने उहाँहरूलाई सोध्छौं, जियोटेकहरूलाई सोध्छौं, विभिन्न देशमा काम गरिराख्नु भएका इन्जिनियरहरूलाई सोध्छौं र त्यो सोधेको आधारमा, बुझेको आधारमा नै हामीले प्रक्रिया दिएका छौं,’ उनले भने।
प्रकाशित मिति : September 2, 2026 at 2:25 pm


