६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

मातृभूमि लघुवित्तद्वारा बाढी प्रभावितका लागि ५ लाख सहयोग

१६ भदाै, काठमाडाैं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै संस्थाले विपद् प्रभावितको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

 संस्थाले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढीका कारण सम्पर्कविहीन भएका सर्वसाधारण तथा विभिन्न बैंक तथा वित्तीय संस्था र संघसंस्थामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारले भोग्नुपरेको पीडाप्रति सहानुभूति व्यक्त गरेको छ।

विपद्को कठिन परिस्थितिमा नेपाल सरकार तथा विभिन्न संघसंस्थाले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार कोषमा सहयोग गरेको जनाएको हो। मातृभूमि लघुवित्तले विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि भइरहेको सामूहिक प्रयासमा सहयोग पुर्‍याउनु सबैको सामाजिक दायित्व भएको उल्लेख गरेको छ।

प्रकाशित मिति : September 1, 2026 at 5:11 pm