१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

त्रिशूली–३ बी हब क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रोको विद्युत् उत्पादन बन्द

१६ भदाै, काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको विद्युत् उत्पादन तथा निकासी अवरुद्ध भएको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२, लच्याङमा गत साउन ११ गते गएको पहिरोका कारण त्रिशूली–३ बी हबदेखि समुद्रटार सबस्टेसनसम्म जडान भई सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा क्षति पुगेको थियो। त्यसपछि आयोजनाको सञ्चालन अवरुद्ध भएको थियो।

प्रसारण लाइनको मर्मतसम्भार कार्य अन्तिम चरणमा पुगेर आयोजना पुनः सञ्चालनको तयारी भइरहेका बेला भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा रहेको नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ।

dainiki.com

कम्पनीका अनुसार पछिल्लो प्राकृतिक विपद्का कारण सूर्यकुण्ड हाइड्रोको आफ्नै आयोजनामा भने कुनै क्षति भएको छैन। तर, विद्युत् प्रसारण तथा निकासीका लागि आवश्यक त्रिशूली–३ बी हबमा क्षति पुगेपछि आयोजना सञ्चालन गर्न नसकिएको हो।

कम्पनीले राष्ट्रिय प्रसारण लाइनको वैकल्पिक व्यवस्था वा त्रिशूली–३ बी हबको पुनःस्थापना गरी विद्युत् प्रसारण प्रणाली सामान्य अवस्थामा आएपछि आयोजना पुनः सञ्चालनमा आउने जनाएको छ। आयोजना पुनः सञ्चालनको अवस्था तथा यससम्बन्धी थप प्रगतिबारे आवश्यक जानकारी समयमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : September 1, 2026 at 9:27 am