१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको आग्रह

१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा पुगेको क्षति तथा त्यसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति निकालेर त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरू यतिबेला उच्च जोखिममा रहेकाले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सरकार, स्थानीय प्रशासन र आम नागरिकमा विशेष आह्वान गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ। जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्दछ।’

विपद्को संवेदनशील घडीमा, नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न पनि रास्वपाले अपिल गरेको छ । कुनै आपत्कालीन अवस्था सिर्जना भए नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० तथा आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका काममा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा सेवामा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति : August 26, 2026 at 11:32 am