८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

हिमालयन लाइफको सीईओ नियुक्ति प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

८ भदाै, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।बिमा प्राधिकरणले नयाँ सीईओका लागि सूचना आह्वान गरेपछि हालका सीईओ कपिलकुमार दाहालले आफ्नो कार्यकाल बाँकी रहँदै पद रिक्त भएको भन्दै सीईओ नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोमबार दाहालले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले नयाँ नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको हो ।

 धितोपत्र सम्बन्धी मुद्दामा अनुसन्धानका लागि २०८३ साउन २२ मा हिरासतमा परेपछि दाहाल स्वतः निलम्बनमा परेका थिए । तर, उनी अदालतको आदेशबाट धरौटीमा रिहा भइसकेका छन् । निलम्बनमा परेको व्यक्ति धरौटीमा छुटेको अवस्थामा पद रिक्त हुने वा नहुने भन्ने विषय ‘गम्भीर कानुनी प्रश्न’ भएको ठहर सर्वोच्चले गरेको छ ।

dainiki.com

अदालतले आगामी भदौ १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सो अवधिसम्मका लागि बिमा प्राधिकरणले भदौ ३ गते प्रकाशित गरेको नयाँ सीईओको दरखास्त आह्वान सम्बन्धी सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिइएको छ । सर्वोच्चको आदेशसँगै हिमालयन लाइफको स्थायी नेतृत्व चयन प्रक्रिया थप अनिश्चित बनेको छ ।

प्रकाशित मिति : August 24, 2026 at 6:10 pm