अपराधीलाई कडा सजाय दिने कानुन बनाउन सांसद आशिका तामाङको माग
८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्ताे बताएकी हुन् ।
सांसद तामाङले अहिलेको कानुनी व्यवस्थाले अपराधीलाई न्यायको कठघरामा उभ्याउन र समाजमा डर पैदा गर्न नसकेको बताइन् । ‘बलात्कारीलाई छुट्टै सजाय दिने कानुनमा के त्यस्तो व्यवस्था छ ? उही जेलमा जाने, ग्वामग्वाम मासुभात खाएर लामखुट्टे जस्तो सुकेको ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठुलो उपलब्धि मैले केही देखेको छैन,’ उनले भनिन् ।

उनले समाजमा बलात्कारका घटना सार्वजनिक भएपछि सडकमा कडा सजाय दे भन्ने आवाज उठ्ने गरेको स्मरण गराउँदै कडा सजायको परिभाषा स्पष्ट हुनुपर्ने बताइन् । सांसद तामाङले बलात्कारीलाई सके फासीको व्यवस्था गर्नुपर्ने बताइन् । फाँसीको व्यवस्था गर्न नसकिए जेल लाने तर खानपिन गर्न नदिने र माथिका दुवै व्यवस्था लागू गर्न नसके, बलात्कारीले जुन अंगको प्रयोग गरेर बलात्कार गरेको हो उक्त अंगको छेदन गर्नेगरी ऐन बनाउनुपर्छ माग गरेकी छिन् ।
प्रकाशित मिति : August 24, 2026 at 4:52 pm


