बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै , राप्रपाको ह्विपले बहुमत पुर्याउन समस्या
२४ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ।
गत बिहीबार मुख्यमन्त्री नियुक्त थापाले आज प्रदेशसभामा विश्वासको मत लिने भएका हुन्। मुख्यमन्त्री नियुक्त हुँदा नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित ६३ सांसदको समर्थन रहे पनि मतदानको पूर्वसन्ध्यामा सत्ता समीकरण जटिल बनेको छ। राप्रपाले आफ्ना सांसदलाई मुख्यमन्त्रीको पक्षमा मतदान नगर्न, विपक्षमा मतदान गर्न, तटस्थ बस्न वा अनुपस्थित रहन निर्देशन दिएको छ।
१०४ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५३ मत आवश्यक पर्छ। एमालेका २५ मध्ये उपसभामुखले अध्यक्षता गर्ने भएकाले उनको मत गणना नहुने हुँदा एमालेको २४ मत मात्र मुख्यमन्त्रीका पक्षमा सुनिश्चित देखिन्छ। नेकपाका २६ सांसदले पनि दलको निर्देशनअनुसार मतदान गरे ५० मत पुग्नेछ। त्यसैले सरकार जोगाउन थप तीन मत आवश्यक पर्ने अवस्था छ।

यता नेकपाभित्र मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर असन्तुष्टि देखिएको छ। आइतबार बोलाइएको संसदीय दलको बैठकमा १३ जना सांसद मात्र उपस्थित भएपछि बैठक सोमबार बिहानसम्मका लागि सारिएको छ। यद्यपि नेकपाले मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ।
मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र राप्रपाले आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेका छन्। कांग्रेसले प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।
यस्तै, राप्रपाले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। यद्यपि पार्टी केन्द्रको निर्देशनविपरीत मन्त्री बनेका तीन सांसदले भने विश्वासको मत दिनेछन्।
यस्तै, तीन सांसद रहेको नेमकिपा र दुई सांसद रहेको हाम्रो नेपाली पार्टी पनि सरकारको पक्षमा देखिएका छैनन्। यसले मुख्यमन्त्री थापाको विश्वासको मत परीक्षा निकै कठिन बनेको छ।
प्रकाशित मिति : August 24, 2026 at 7:47 am


