भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्दै स्वरोजगार र विन नेपाल लघुवित्त
७ भदाै, काठमाडाैं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पन्न आवश्यक कानुनी प्रक्रिया तथा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया पूरा गरेको हो।
प्राप्तिपश्चात् विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू स्वरोजगार लघुवित्तले व्यहोर्ने गरी एकीकृत कारोबार सञ्चालन गरिने जनाइएको छ।
दुवै संस्थाबीचको एकीकृत कारोबार यही भदौ २१ गते आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। एकीकृत कारोबार सुरु हुने अवधिमा दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवाहरू भदौ २१ गते एक दिन बन्द रहने भएकाले सेवाग्राही, सेयरधनी, नियामक निकाय तथा सम्बन्धित सरोकारवालालाई आवश्यक जानकारी गराइएको छ।
प्राप्तिपछि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन हुनेछ। कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा-५ मा रहनेछ।
प्रकाशित मिति : August 23, 2026 at 9:43 am


