गभर्नरको कार्यकाल ३ वर्ष बनाउने अर्थ समितिको निर्णय
४ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंक ऐन संशोधनमार्फत गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष बनाइने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलबाट गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूको कार्यकाल ३ वर्ष बनाउने निर्णय गरेको हो ।
बिहीबार बसेको बैठकले मूल ऐनको दफा १८ मा संशोधन गर्दै गभर्नरको कार्यकाल घटाउने र पुनः नियुक्तिको नयाँ प्रावधान राख्ने सहमति गरेको हाे । समितिले सरकारले आवश्यक ठानेमा थप दुई वर्षसम्म उनीहरूको पदावधि बढाउन सक्ने व्यवस्था गर्न पनि अर्थसमिति सहमत भएको छ।
हाल गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि पाँच वर्ष रहेको छ। राष्ट्र बैंक ऐन संशोधनका लागि तयार गरिएको प्रस्तावित मस्यौदामा भने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि एक पटकको लागि थप गर्न सक्ने प्रस्ताव गरिएको थियो।
अर्थ समितिको दफावार छलफलबाट पारित भएको यो व्यवस्था अनुसार मस्यौदा पुनः संघीय संसदमा पुग्नेछ। संघीय संसदबाट स्वीकृत भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै यो व्यवस्था ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।
प्रकाशित मिति : August 20, 2026 at 3:56 pm


