४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

अमरेशकुमार सिंहको प्रश्नः अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?

४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक अंग हो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शाखा हो स्पष्ट पार्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै उनले यस्ताे भनेका हुन् ।

‘अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री कार्यालयको शाखा हो, स्पष्ट गरिदिनुस्। यसले प्रधानमन्त्रीको समेत छानबिन गर्न सक्छ।’ उनले  प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी जान नहुने बताए।

उनले अख्तियारका पदाधिकारीका कारणले अख्तियारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाए। उनले भने, ‘संसदीय समितिमा आउन मिल्छ, अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। त्यसैले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन। अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ।’

प्रकाशित मिति : August 20, 2026 at 12:59 pm