नेप्सेको कारबाहीमा पर्यो बेनी सेक्युरिटिज, समयमा राफसाफ नगर्दा निलम्बन
३ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रा. लि. (ब्रोकर नं. ९३) लाई निलम्बन गरेको छ। राफसाफ र फर्स्यौट कार्य समयमै नगरेको भन्दै नेप्सेले बुधबादेखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बेनी सेक्युरिटिजले तोकिएको समयावधिभित्र राफसाफ र फर्स्यौट कार्य पुरा नगरेको भन्दै निलम्बनका लागि नेप्सेलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार एक पत्र जारी गर्दै कम्पनीलाई कारबाही गरेको जानकारी दिएको छ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) (छ) बमोजिम बेनी सेक्युरिटिजलाई आगामी ३ (तीन) कार्य दिनका लागि निलम्बन गरेको हो। निलम्बन अवधिभर बेनी सेक्युरिटिजमार्फत लगानीकर्ताले सेयर कारोबार गर्न पाउने छैनन् ।

प्रकाशित मिति : August 19, 2026 at 2:00 pm


