२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

व्यवसायको पुँजी, ऋण र नगद प्रवाह व्यवस्थापन गर्न राष्ट्र बैंकको सुझाव

२ भदाै, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरेलु, साना, मझौला तथा उद्यमीहरूलाई व्यवसाय सञ्चालनमा वित्तीय साक्षरता र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिन आग्रह गरेको छ। केन्द्रीय बैंकले व्यवसाय सफल बनाउन वित्तीय ज्ञान, क्षमता, व्यवहार, सोच र वित्तीय अनुशासन आवश्यक रहेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने वा औपचारिक व्यवसाय दर्ता गरेपछि त्यसको विस्तार तथा बन्द गर्ने प्रक्रियामा समेत सही वित्तीय ज्ञान र सीप आवश्यक हुन्छ। उद्यमीले व्यवसायिक योजना निर्माणदेखि वित्तीय सेवा छनोटसम्मका विषयमा पर्याप्त जानकारी राख्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकले उद्यमीलाई व्यवसायिक योजना र वित्तीय सेवाको सही छनोटमा विशेष ध्यान दिन सुझाव दिएको छ। व्यवसायको योजना, प्रारम्भिक पुँजी, स्रोत तथा साझेदारीको विकल्प, विकल्पका फाइदा–बेफाइदाको मूल्याङ्कन, आवश्यकताअनुसार भुक्तानी तथा बचत सेवा छनोट र प्रविधिमा आधारित वित्तीय सेवाको प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। व्यवसाय र व्यक्तिगत कारोबारका लागि छुट्टाछुट्टै बैंक खाता प्रयोग गर्नसमेत आग्रह गरिएको छ।

त्यस्तै, व्यवसाय व्यवस्थापन र वित्तीय योजनालाई पनि प्राथमिकतामा राख्न राष्ट्र बैंकले जोड दिएको छ। व्यवसायको प्रकृतिअनुसार आवश्यक दर्ता, अनुमति, कर, छुट, कर्मचारी नियुक्ति तथा दर्ता खारेजीसम्बन्धी कानुनी प्रक्रियाबारे जानकारी लिनुपर्ने बताएको छ। व्यवसायको आम्दानी, खर्च, सम्पत्ति, दायित्व र लगानीको हिसाबकिताब तथा वित्तीय विवरण व्यवस्थित राख्न र नगद प्रवाह तथा लेखांकनमा प्रविधिको प्रयोग गर्न राष्ट्र बैंकले सुझाव दिएकाे छ।

उद्यमीले अल्पकालीन योजना, नगद आउने–जाने स्रोत, बजेट निर्माणसँगै दीर्घकालीन व्यवसाय विस्तारको योजना बनाउनुपर्नेमा पनि राष्ट्र बैंकले जोड दिएको छ। यसका साथै अल्पकालीन तथा दीर्घकालीन ऋण, साझेदारी र पुँजी योजनालाई समेत व्यवस्थित बनाउनुपर्ने उल्लेख छ।

व्यवसायमा आइपर्न सक्ने जोखिम न्यूनीकरणका लागि जोखिम विविधीकरण र बीमालाई समेत महत्वपूर्ण मानिएको छ। उद्यमी तथा कर्मचारीसँग सम्बन्धित जोखिम व्यवस्थापन, अवकाश योजना र व्यक्तिगत बीमाका साथै व्यवसायमा आउन सक्ने वित्तीय जोखिम र व्यवसायिक सम्पत्तिको क्षतिको जोखिम पहिचान गरी आवश्यक बीमा गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।

त्यस्तै, आर्थिक, राजनीतिक, सामाजिक, प्रविधि, प्रतिस्पर्धा तथा नियमनलगायत बाह्य प्रभावले व्यवसायको बजार, आम्दानी, खर्चमा पार्न सक्ने असरबारे उद्यमी सचेत हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। व्यवसायिक वित्तीय ग्राहकका अधिकार, गुनासो गर्ने निकाय तथा संरक्षणको व्यवस्थाबारे जानकारी लिन र व्यवसाय तथा वित्तीय सेवा छनोटका लागि आधिकारिक तथा निष्पक्ष सूचना र सल्लाहका स्रोत प्रयोग गर्नसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति : August 18, 2026 at 2:40 pm