विभाजन र पराजयबाट जोगाउँदै कांग्रेसलाई बिग टेन्ट पार्टी बनाऔँः डिला संग्रौला
१ भदाै, ललितपुर। नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार धारणा राख्दै उनले निर्वाचनको पराजय र विभाजनको जोखिमबाट पार्टीलाई जोगाउन इतिहासको चेत र देशप्रतिको जिम्मेवारी अनुभूत गरेर अघि बढ्नुपर्नेमा जोड दिएकी हुन्।
प्रसिद्ध फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोको भनाइ उद्धृत गर्दै सहमहामन्त्री सङ्ग्रौलाले संविधान र गणतन्त्रको रक्षा गर्ने कांग्रेसको विचारको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने स्पष्ट पारेकी छन्। पार्टीको १५ औँ महाधिवेशन घोषित कार्यतालिका अनुसार असोज १६ देखि १९ गतेभित्रै भव्य र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास उनले व्यक्त गरेकी छन्।
‘जरा अभियान’ र आफ्नो हालैको साङ्गठनिक भ्रमणका क्रममा कार्यकर्ता तथा आम नागरिकमा अझै पनि कांग्रेसप्रति आशा जीवितै रहेको तर चुस्त साङ्गठनिक परिचालनको खोजी भइरहेको केन्द्रीय कार्यसमितिमा उनले बताएकी छन्। नियमावली, निर्वाचन निर्देशिका र सदस्यता अद्यावधिकको काम समयमै सक्दै महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति तथा प्रचार–प्रसार लगायतका उपसमितिहरू अविलम्ब गठन गर्न उनले माग गरेकी छन्।
तराई–मधेशमा विकसित घटनाक्रमबारे धारणा राख्ने क्रममा सहमहामन्त्री सङ्ग्रौलाले सामाजिक तथा जातीय सद्भाव बिथोल्ने प्रयासप्रति कांग्रेस गम्भीर हुनुपर्नेमा जोड दिएकी छन्। सुनसरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिनका लागि कांग्रेसले अघि सारेको ‘संसदीय छानबिन समिति’ गठनको अडान नै पार्टीको मुख्य ‘बटमलाइन’ हुनुपर्ने उनको भनाइ छ। बहुजातीय र बहुसांस्कृतिक एकताको वकालत गर्दै मधेशमा शान्ति–सुरक्षा र भ्रातृत्व कायम राख्न कांग्रेसले नै अग्रणी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएकी छन्।
सरकार गठनको ४ महिना पूरा भइसक्दा पनि वर्तमान सत्ता दिशाहीन, असक्षम र पपुलिस्ट निर्णयहरूमा रमेको भन्दै प्रमुख प्रतिपक्षको रूपमा कांग्रेसले संसद्भित्र जनताका मुद्दामा कडा र तार्किक बहस चलाउनुपर्ने उनको जोड छ। प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको खिचाताणीले सङ्घीयतामाथि नै प्रश्न उठाएकाले यस विषयमा नेपाली कांग्रेस स्पष्टसँग अघि बढ्नुपर्ने उनले बताएकी छन्।
सङ्ग्रौलाले विदेशमा रहेका लाखौँ नेपालीहरूको मताधिकारको ग्यारेन्टी र जनसम्पर्क समितिहरूको सुदृढीकरणका लागि स्पष्ट नीति ल्याउन आग्रह गरेकी छन्। लामो समयदेखि तदर्थवादमा चलेका नेपाल विद्यार्थी सङ्घ, तरुण दल र महिला सङ्घ लगायतका भ्रातृ संस्थाहरूको विधान समयानुकूल परिमार्जन गरी तत्काल महाधिवेशनको दिशामा लैजानुपर्ने सुझाव उनले दिएकी छन्।
देशको समसामयिक अवस्था र जनजीविकाका सवालमा सरकारले पूर्वतयारी र भण्डारणको अध्ययन नगरी १४.२ केजीको सिलिन्डर भर्ने तदर्थवादी निर्णय गर्दा ग्यासको हाहाकार मच्चिएको आरोप उनले लगाएकी छन्। कूटनीतिक पहल गरी ग्यासको आयात र भण्डारण दोब्बर बढाउन, विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाई इन्डक्सन चुलोमा सहुलियत दिन र मुख्य सिजनमा मल नपाएर समस्यामा परेका किसानहरूलाई अनुदानको मल उपलब्ध गराउने विषयमा कांग्रेसले सरकारसँग पहल गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
प्रकाशित मिति : August 17, 2026 at 5:06 pm


