१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

१ भदाै, काठमाडाैं ।  नेपालमा युवाको बढ्दो विदेश पलायन रोक्न केवल रोजगारी सिर्जना पर्याप्त नहुने भन्दै शिक्षा, सीप, उद्योग र उद्यमशीलताबीचको सम्बन्ध बलियो बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। उनीहरूले उद्योगको आवश्यकता र शैक्षिक संस्थाले उत्पादन गर्ने जनशक्तिबीचको दूरी घटाउन सके स्वदेशमै अवसर विस्तार गर्न सकिने बताएका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा आयोजित ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने ः प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा सहभागी वक्ताले यस्तो धारणा राखेका हुन्।

उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट युवाको विदेशिने क्रमलाई बाध्यताका रूपमा नभई व्यक्तिगत रोजाइका रूपमा स्थापित गर्नुपर्ने बताइन्। नेपालमा उद्योग, सूचना प्रविधि, होटल तथा पर्यटन र अटोमोबाइललगायत क्षेत्रमा अवसरको सम्भावना भए पनि नीतिगत जटिलता र पर्याप्त अवसरको अभावले युवा विदेशिन बाध्य भइरहेको उनको भनाइ छ।

युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले रोजगारीसँगै उद्यमशीलताका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनले बताइन्। व्यवसाय सुरु गर्न दर्ता, कर, अनुमति र वित्तीय स्रोतका लागि विभिन्न सरकारी निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्ने उनको सुझाव छ।

नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतीले आगामी पाँचदेखि १० वर्षमा नेपालको अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताए।

त्यसका लागि सवारीसाधन एसेम्ब्लीमा मात्र सीमित नभई पार्टपुर्जा तथा कम्पोनेन्टको स्थानीय उत्पादन र आपूर्ति शृंखला विकास गर्नुपर्ने उनको भनाइ छ। यसबाट औद्योगिक क्षमता विस्तारसँगै देशभित्रै रोजगारीका नयाँ अवसर सिर्जना गर्न सकिने उनले बताए।

ज्योतीले शिक्षा र निजी क्षेत्रबीच रहेको खाडललाई पनि नेपालको औद्योगिक विकासको प्रमुख चुनौतीका रूपमा औंल्याए। उद्योगलाई आवश्यक पर्ने जनशक्तिअनुसार पाठ्यक्रम विकास गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रले रोजगारी सिर्जनामा ठूलो भूमिका खेलिरहेको अवस्थामा लगानी र उद्यमप्रति विश्वासको वातावरण बनाउन सके अर्थतन्त्रले थप गति लिने धारणा राखे।

थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयबाट अध्ययन पूरा गर्दैमा विद्यार्थीले उद्योगमा आवश्यक सबै व्यावहारिक काम तत्काल गर्न सक्ने अवस्था नहुने बताए।

विश्वविद्यालयले विद्यार्थीलाई सैद्धान्तिक आधार बलियो बनाउने भएकाले उद्योगमा आवश्यक व्यावहारिक सीप विकासका लागि विश्वविद्यालय, उद्योग र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उनले पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको प्रक्रियालाई उद्योगसँग प्रत्यक्ष जोड्नुपर्ने बताए। विश्वविद्यालयमा हुने अनुसन्धान तथा विद्यार्थी परियोजनामा निजी क्षेत्रको लगानी बढाउनुपर्ने उनको सुझाव छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाईले नेपालमा अवसर नै छैन भन्ने भाष्यले युवामा निराशा बढाउने बताइन्।

नेपालमै शिक्षा, सीप र रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उनले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक रहेको बताइन्। उद्योगलाई आवश्यक जनशक्तिबारे उद्योगी–व्यवसायीसँग प्रत्यक्ष छलफल गरेर पाठ्यक्रम निर्माण गर्नुपर्ने उनको सुझाव छ।

उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनका लागि नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै सेढाईले निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने बताइन्।

संवादका सहभागीहरूले युवालाई स्वदेशमै अवसर दिन शिक्षा र रोजगारीबीचको दूरी घटाउनु अपरिहार्य रहेको निष्कर्ष निकाले। त्यसका लागि उद्योगसँग प्रत्यक्ष सहकार्य, व्यावहारिक सीप, इन्टर्नसिप र अप्रेन्टिससिपलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको जोड थियो।

नेपालमा उद्योग र रोजगारीका अवसर विस्तार गर्न सके दक्ष युवा विदेशिने क्रम घटाउन सकिने र विदेशिएका युवालाई समेत स्वदेश फर्किने आधार तयार गर्न सकिने उनीहरूले बताएका छन्।

प्रकाशित मिति : August 17, 2026 at 9:16 am