२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

गगन थापालाई मोहन बस्नेतको व्यंग्यः बोकाले दाइँ हुने भए गोरु चाहिँदैन

२९ साउन, काठमाडौं ।  नेपाली कांग्रेसका नेता मोहन बस्नेतले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउनुपर्ने बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै सरकारलाई समेत डोर्‍याएर मुलुकलाई निकास दिने हैसियत राख्ने राजनेता देउवा नै भएकाे बताए।

स्थानीय तहदेखि केन्द्रसम्म बहुमतम रहेको पार्टीलाई थापा नेतृत्वमा आएपछि धरासायी बनेको उनको भनाइ थियो। उनले कांग्रेस आजको दिनमा गगनको नेतृत्वमा नचलेको टिप्पणी गरे ।

‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन । त्यसकारण आज पार्टी चलेको छैन । पार्टी बर्बाद भएको छ । कांग्रेस पार्टीको लामो कुरा नगरौं, शेरबहादुर देउवाजीको नेतृत्वमा वडा, पालिका, प्रदेश र संघमा बहुमत । राष्ट्रिय सभामा थिएन, त्यहाँ पनि उहाँहरूको बुद्धिमताले त्यहाँ पनि बहुमत पुर्याएको हो,’ उनले भने ।

सभापति थापाले यसअघि नै ५५ वर्षपछि राजनीति छाड्छु भनेको विषय स्मरण गराउँदै उनले आफूले बोलेको कुरा पूरा गर्न चुनौती दिएका छन् । उनले भने, ‘उहाँले युवा भन्नुहुन्छ, ५२ वर्ष नाघिसक्नुभएको छ। उहाँले ५५ वर्ष पुगेपछि मैले राजनीति छोड्छु भन्नुभएको छ। अब ३ वर्षमा चुनाव नियमित प्रक्रियामा भयो भने आउने चुनाव उहाँ लड्न भ्याउनुहुन्न। कमसेकम बोलेको कुरा पूरा गर्नुहुन्छ ।’

प्रकाशित मिति : August 14, 2026 at 5:45 pm