छिमेक लघुवित्तको नाफा १ अर्ब २९ करोड, प्रतिसेयर आम्दानी भने घट्यो
२९ साउन, काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब २१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.१० प्रतिशत बढेर ३ अर्ब ८४ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ७२ पैसा रहेको छ। ३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४७ अर्ब ६२ करोड ६५ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
संस्थाको खराब कर्जा अनुपात २.५५ प्रतिशतबाट घटेर २.३० प्रतिशत कायम भएको छ । नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी३४.८१ रुपैयाँमा सीमित भएको छ । गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५१ रुपयाँ ६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ।
प्रकाशित मिति : August 14, 2026 at 1:51 pm


